परिर्वतन र क्रान्तिको सन्देश बोकेको फिल्म 'जलजला' को गुपचुप रूपमा पौष २७ गतेका लागि रिलिज डेट तय गरिएको छ । चलचित्र विकास बोर्डबाट बिशेष फिल्मको मान्यता प्राप्त यो फिल्मलाई डिसिएनले देशभर एकसाथ रिलिज गर्ने भएको छ ।
बुधबार फिल्मीखबरसँगको जम्का भेटमा फिल्मका निर्देशक शिबजी लामिछानेले पौष २७ मा आफ्नो फिल्म लाग्ने बताए । उक्त मितीमा जलजला आउने भएपछि केहि महिना अगाडी रिलिज मिती तय गरिएको फिल्म 'पदमिनी' भने संकटमा परेको छ । फिल्मका निर्माता छिरिङ दोर्जे लामाले अचानक जलजला आउन लाग्दा आफू अचम्ममा परेको भन्दै आफ्नो फिल्मको रिलिज अन्यौलमा परेको बताए । पदमिनी फिल्मलाई पनि डिसिएनले नै रिलिज गर्ने बताईएको थियो ।
चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा जलजलाका निर्माता समेत रहेका गणेश भण्डारीले अब केहि दिनमा नै फिल्मको पब्लिसिटी शुरू गर्ने बताए । एडल्ट (वयस्क) सर्टिफिकेट पाएको 'जलजला' मा आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, स्वर्गिय गोपाल भुटानी लगायतको अभिनय रहेको छ । काशिराम भुसाल निर्माताको रूपमा रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत सुन्न सकिनेछ ।
यस्तै पौष २७ मा नै अर्को फिल्म अध्याय रिलिज हुने बताईएको छ । प्रवीण स्याङ्बोले निर्देशन गरेको यो फिल्मको पनि पब्लिसिटी शुरू भईसकेको छैन । अहिलेका युवाहरूको प्रेम गर्ने शैलीलाई चित्रण गरि निर्माण गरिएको यो फिल्ममा कर्मा, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, शान्ति गिरी, स्वस्तिका राजभण्डारी, अंकिता बुढाथोकीको मुख्य अभिनय रहेको छ ।
आफ्नो फिल्मको रिलिज मिती अन्यौलमा परेपछि निर्माता लामाले पनि पब्लिसिटीलाई अगाडी बढाउन सकेका छैनन् । राम प्यासीले निर्देशन गरेको यो फिल्ममा निशा अधिकारी, अनिल थापा, सरिता गिरी, सुनिल दत्त पाण्डे लगायतले अभिनय गरेका छन् । फिल्मका अर्का निर्माता बसन्त कुमार श्रेष्ठ पनि हुन् जो अहिले अष्ट्रेलिया भ्रमणमा छन् र फिल्मको रिलिजको चाँजोपाँजो मिलाउनमा व्यस्त छन् ।
‘मैले गीत छोडी आए फुलको तरेलीमा’…….चलचित्र ‘सारङ्िग’मा नायक सरोज खनालले यो गीतमा अभिनय गर्दा धेरैको मन छोएको थियो । नेपाली सिनेमा क्षेत्रमा कुनै बेला सरोज खनालको क्रेज अत्याधिक थियो । सरोज खनालका नाममा हलमा दर्शकहरु ओइरिन्थे ।तर एकाएक करिअरको उचाईमा रहेको समयमा खनाल अमेरिका पलायन भए । उनी अमेरिका पुगेपछि दर्शकले पनि बिस्तारै उनको नाम बिर्सदै गएका छन् । तर सरोजले गरेको अभिनयको नशाले दर्शकलाई अझै पनि छोडेको छैन ।
१४ बर्षपछि नायक खनाल पुनः एकपटक पर्दामा र्फकदै छन् । चलचित्र ‘मानव’ बाट उनले नेपाली चलचित्रको रंगिन पर्दामा पुनः आगमन गर्न लागेका हुन् । कुमार आचार्यको निर्माणमा तयार भएको यो चलचित्रमा अभिनय गरेर सरोज अमेरिका फर्केको पनि लामै समय भैसकेको छ । तर चलचित्रको प्रदर्शनको पालो भने भर्खर मात्र आएको छ । यो चलचित्र माघ महिनामा प्रदर्शनमा आउने निर्माणपक्षको भनाई छ ।
यादव सिलवालको निर्देशनमा तयार भएको चलचित्रमा सरोजलाई नायिका दिपशिखा शाहीले साथ दिएकी छिन् । चलचित्रमा निश्चल श्रेष्ठको कथा तथा गीत, विकास चौधरीको संगीत छ । सरोज खनालका फ्यानहरुका लागि ‘मानव’ नौलो स्वाद हुने विश्वास निर्माणपक्षको छ ।
छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म 'उमा' को सुटिङ सकिएको छ । काठमाण्डौ र काभ्रेको खापोसी गाउँमा २८ दिन सुटिङ गरि आईतवार फिल्मको सुटिङ सकिएको हो । तर फिल्मको अफिसियल इण्डक्ल्याप भने दुई साता पश्चात गरिने निर्देशक शेर्पाले फिल्मीखबरलाई जानकारी गराए ।
'अझै केहि मोन्टाज सट खिच्न बाँकी नै छ त्यो दुई साता पछि खिचिन्छ र अफिसियल इण्डक्ल्यापको घोषणा गरिनेछ', निर्देशक शेर्पाले भने, 'म दुई साताका लागि भारत जानु पर्ने भएकाले ब्रेक गरिएको हो ।' सुटिङ दौरानमा कलाकारहरूले धेरै राम्रो काम गरेको निर्देशक शेर्पा बताउँछन् । उनी भन्छन्, 'कलाकारहरूले कल्पना गरेभन्दा राम्रो काम गर्नु भएको छ ।' यस्तै प्राबिधिकहरूबाट पनि राम्रो सहयोग मिलेकाले २८ दिनमा नै सुटिङ सकिएको उनले बताए ।
शिर्ष भुमिकामा देखिएकी नायिका ऋचा शर्माले पनि छिरिङबाट धेरै कुरा सिकेको बताईन् । उनले भनिन्, 'यति धेरै काम त मैले अहिलेसम्म सिक्ने मौका पाएकी थिईन ।' दश बर्षे जनयुद्धको एक अंश अर्न्तगतको एउटा प्रहरी दाजु र माओवादी बहिनी बिचको द्धन्दात्मक कथामा आधारित रहेर निर्माण गरिएको यो फिल्ममा ऋचाले फिल्ममा माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् । यस्तै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा छन् ।
मिला प्रोडक्सनको ब्यानरमा निर्देशक स्वयंले निर्माण गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । उनी यो फिल्मको सुटिङ सकेर सोमबार देखि सुटिङ शुरू भएको झोलेमा व्यस्त भईसकेका छन् । यस्तै फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको संगीत रहेको छ ।
माघ १२ गते रिलिज गर्ने योजनाका साथ पब्ल्सिटीको शुरूवात गर्दै फिल्म 'सि-माला' को अफिसियल प्रोमो रिलिज गरिएको छ । फिल्मको कथाबस्तु नखुलाईए पनि प्रोमोले फिल्म प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।मुस्ताङ र पोखरा छायाँकन गरिएको यो फिल्मलाई रूद्र गुरूङले निर्देशन गरेका हुन् । मनोज आरसी, दिप्ती गुरुङ, निर्भिक राई र रोश्नी कार्की मुख्य कलाकारको रुपमा रहेको यो फिल्ममा चर्चित गायक राजेश पायल राईको पनि अभिनय हेर्न सकिनेछ । गायक राईलाई फिल्ममा नेगेटिभ भुमिकामा देख्न सकिने निर्माण युनिटले बताएको छ । 'छोटो तर मिठो भुमिकामा उहाँ देखिंदै हुनुहुन्छ', निर्देशक गुरूङले भने ।
आरबीए फिल्मस मार्फत पहिलो पटक निर्माण भएको यो फिल्मको कथा राम बाबु गुरूङले लेखेका हुन् । फिल्ममा डेभिड चाउको छायाँकन, प्रकाश गुरूङ, बिभुषण बस्नेतको संगीत, निमेश श्रेष्ठ र राजेन्द्रको सम्पादन, बाबु श्रेष्ठको करियोग्राफी तथा श्रवण मुकारूङ र भुपाल राईको गीत रहेको छ ।
आगामी शुक्रबार अर्थात मंसिर २२ गते रिलिज हुन लागेको फिल्म 'थ्री लभर्स' लाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको रहोबरमा हेर्न पाउने गरी सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । मंगलबार अन्तिम पटक फिल्म हेरे पश्चात केहि सिन र संवाद समेत हटाउन लगाउँदै सेन्सर बोर्डले पिजी सर्टिफिकेटका साथ प्रदर्शनको अनुमती दिएको हो ।फिल्म सेन्सर भए पश्चात फिल्मीखबरसँग कुरा गर्दै निर्देशक सुरेश दर्पण पोखरेलले पछिल्लो समय आएका केहि भल्गर फिल्मको शिकार आफ्नो फिल्म भएको बताए । उनले भने, 'मेरो फिल्ममा कुनै आपत्ति नहुने सिनमा पनि बोर्डले आपत्ति जनाउँदा निकै अचम्म लाग्यो । मलाई लाग्छ यो सबै पछिल्लो समय आएका केहि भल्गर फिल्मको परिणाम हो ।' फिल्मको कथाबस्तु र प्रस्तुती नबुझी सेन्सर गर्ने सदस्यहरू प्रति व्ययङ्ग हान्दै पोखरेलले भने, 'अब त गुन्यू चोली लगाएर डोको बोकी भिरपाखामा गीत गाउँदै हिड्ने खालको फिल्म मात्र बनाउनु पर्ने भयो ।'
पहिलो पटक फिल्म हेर्दा सेन्सर बोर्डले नायिका प्रियंका कार्की सहित केहि मोडलहरूले लगाएको पहिरनमा आपत्ति जनाएको थियो । पछि सेन्सरका सदस्यहरूसँग छलफल गरेर उनीहरू फिल्ममा राखिएको र्याम्प सिन नहटाउने सहमतीमा आएको निर्देशकले बताए । 'फिल्ममा प्रस्तुत गरिएको र्याम्प सिनमा भन्दा छोटो पहिरन लगाएका महिलाहरू बिभिन्न खाले ट्यालेन्ट शो तथा फेसन शोहरूमा दर्शकहरूले अवलोकन गरिरहेका हुन्छन्' ,निर्देशक पोखरेलले भने । उनले फिल्ममा राखिएको एउटा बेड सिन र किस सिनलाई भने छोट्याउन सेन्सरले आग्रह गरेको र आफूहरू सहमतीमा आएको बताए ।
प्रियंका कार्की, निरज बराल, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको मुख्य अभिनय रहेको रोमान्टिक प्रेमकथामा आधारित यो सस्पेन्स फिल्म देशभरका अधिकांश हलमा लाग्नेछ । फिल्मलाई थ्री ब्रदर्श क्रियशनले निर्माण गरेको हो । सेन्सर बोर्डले आपत्ति जनाएको केहि सिन हेर्न तलको प्रोमोमा क्लिक गर्नुहोला !





