मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नं ७ मा रहेको नागस्वती गाउँमा राष्ट्रिय स्तरकै रंगशाला बनाउन नेपाली कलाकारहरु जुटेका छन् । नेपालका चर्चित कलाकारहरु निःशुल्क रुपमा रंगशाला निर्माणका लागि विविध सांकृतिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । बेल्जियममा बसोबास गर्दै आएका सहदेव गौतमको संयोजकत्वमा हुन लागेको कार्यक्रममा नेपालका चर्चित दर्जन बढी कलाकारहरुको सहभागीता रहनेछ ।
फागुन २६ गते आयोजना गर्न लागिएको सांकृतिक कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, चेतन सापकोटा, गायक प्रमोद खरेल, यश कुमार, गायिका अन्जु पन्त, माण्डवी त्रिपाठीको सहभागिता रहनेछ ।
यस्तै कार्यक्रममा नायिका निता ढुंगानाको विशेष नृत्य प्रस्तुती रहनेछ । सांकृतिक कार्यक्रममा द्धन्द निर्देशक राजेन्द्र खड्गी, हाँस्यकलाकार बिष्णु सापकोटाको पनि आकर्षक प्रस्तुती रहने बताइएको छ । १ करोड २५ लाखको अनुमानित बजेटमा तयार गर्न लागिएको रंगशालाका लागि बिशेष सांकृतिक कार्यक्रमबाट ५० लाख उठाउने योजना आयोजकको छ । कार्यक्रममा प्रवेशका लागि सय रुपियाको टिकट काट्नुपर्ने हुन्छ । आयोजकले १५ हजारको टिकट विक्री भएको जनाएको छ । नबज्योती स्कुलको मैदानलाई रंगशालामा परिणत गर्न लागिएको हो ।

