भारतद्वारा आणविक मिसाइल परीक्षण

Published On Sunday, September 15, 2013 » 0 comments » By Unknown » ,

New Delhi

नयाँ दिल्ली – भारतले आणविक शस्त्र प्रहार गर्नसक्ने क्षमताको अग्नि–५ मिसाइल आइतबार सफल परीक्षण गरेको छ। डेढ टन हतियार वहन गर्नसक्ने अग्नि–५ ले पाँच हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ। अग्नि–५ को सफल परीक्षणपछि भारत अब चीनको राजधानी बेइजिङ र युरोपेली भूभागसम्म मिसाइल प्रहार क्षमता विकास गरेको छ।

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका स्थायी राष्ट्र अमेरिका, रुस, चीन, बेलायत, फ्रान्सबाहेक अब भारत यति लामो दुरीसम्म प्रहार गर्नसक्ने आणविक मिसाइलयुक्त राष्ट्र बनेको छ। यसबाहेक इजरेलसँग मात्र लामो दुरीमा प्रहार गर्नसक्ने आणविक मिसाइल रहेको अनुमान छ।
भारतलेस्थानीय समयअनुसार आइतबार बिहान ८ः५० मा ओडिसाको बालासोर जिल्लाको चाँदीपुरस्थित प्रक्षेपण केन्द्रबाट अग्नि–५ को सफल प्रक्षेपण गरेको थियो। भारत सरकारको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले विकास गरेको मिसाइलको दोस्रो परीक्षण हो। अग्नि–५ को पहिलो सफल परीक्षण सन् २०१२ अप्रिल मा गरिएको थियो। १७.५ मिटर लामो अग्नि–५ को वजन लगभग ५० टन छ।
भारतले गरेको लामो दुरी प्रहार गर्नसक्ने मिसाइलको यो दोस्रो परीक्षण हो। रक्षा मन्त्रालयका अनुसार अग्नि–५ को दोस्रो परीक्षण यसको क्षमता र प्रविधि जाँच गर्नका लागि गरिएको थियो। डिआरडिओले सन् २०१५ सम्म सेनालाई सुम्पनुअघि अग्नि–५ को अझै ३/४ वटा परीक्षण गरिनेछ।
अग्नि–५ मा ठोस इन्धन प्रयोग गरिएको छ। अग्नि–५ को पहिलो चरणको परीक्षणपछि १६ महिनासम्म मिसाइलको प्रभाव र क्षमतासम्बन्धी तथ्यांकको १६ महिनासम्म अध्ययन गरेका थिए। साथै अग्नि–५ को अनुसन्धान विकासमा संलग्न वैज्ञानिकले नेभिगेसन, अन बोर्ड सिस्टमको समेत अध्ययन गरेपछि मात्र दोस्रो परीक्षण गरेका थिए।
अग्नि–५ पछि अग्नि–६ को परीक्षण
अग्नि–५ को सफल परीक्षणपछि अब भारत अग्नि–६ मिसाइल परीक्षण गर्ने योजनामा छ। डिआरडिओ प्रमुख डक्टर विके सारस्वतले भारत लामो दुरीको ब्यालेस्टिक मिसाइल क्षमता विकास गरेको बताए। सारस्वतले अब भारत एउटै मिसाइल रकेटबाट ३/४ मिसाइल वारहेड प्रहार गर्ने क्षमता विकासको रोडम्यापमा काम गर्ने बताए।
डिआरडिओ प्रमुख सारस्वतले मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल रिइन्ट्रि भेहिकलबाट एकैपल्ट धेरै दिशामा निसाना लगाएर मिसाइल प्रहार गर्ने प्रविधि सेनालाई सुम्पने बताए। एमआइआरभी प्रविधि अनुसार अग्नि–५ को रकेटको माथिल्लो भाग दुई मिटर चौडा हुनेछ, जसमा ३ देखि ५ वटा मिसाइल वारहेड अर्थात् विस्फोटक राखेर एकैपल्ट प्रहार गर्न सकिन्छ।
सारस्वतले अग्नि–५ को क्षमता अभिवृद्धि गरी आठ हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने मिसाइल बनाउन सकिने बताए। तर तत्काल भारतका लागि त्यस्ता मिसाइलको आवश्यकता नरहेकाले निर्माण नगरिने सारस्वतले बताए। अग्नि–५ लाई नै पनि भार कम गरी अझै लामो दुरीसम्म प्रहार गर्न सकिन्छ।

Share this post

Tags

0 comments

Leave a Reply