बसभित्र र बाहिर एक्कासि चारैतिर पेट्रोल छर्किए

Published On Sunday, September 15, 2013 » 0 comments » By Unknown »

News From Kathmandu Nepal....
बनेपा - सधैंझैं पाँचखालको सर्वमंगला उच्चमाविमा सामाजिक शिक्षा पढाउन हिँडेकी थिएँ। बनेपाको बसस्टपमा मेलम्ची जाने बस रहेनछ। एकछिन कुर्नुपर्‍यो। बाटोमा धेरै मानिस पैदल हिँडिरहेका थिए। आज बन्द छ भन्ने मलाई थाहा थिएन। यत्तिकैमा काठमाडौंबाट मेलम्ची जाने बस आइपुग्यो। साढे ९ बजेको थियो। स्कुल पुग्न ढिला हुन लागेकाले हतारहतार बस चढेँ। बसमा यात्रुहरू धेरै थिएनन्। मसँगै अरू यात्रु पनि बनेपाबाट चढे। बसको सिट भरिएको थिएन। पछिल्ला सिट खाली थिए।

बसको खलासी मेलम्ची, मेलम्ची भनेर चिच्याइरहेको थियो। बस धुलिखेलनेर पुग्नै लाग्दा अचानक रोकियो। करिब पौने १० बजेको थियो होला। कोही चढ्न लागेको होला भन्ने सोच्दै थिएँ। बसमा केही मान्छे छिरे। उनीहरूले ड्राइभरलाई 'आज बन्द थाहा छैन, कसले चलाउन भन्यो' भनेर हपारे। ड्राइभरले पनि 'थाहा भएन, सबैले खुल्यो भनेपछि ल्याएको' भने।उनीहरूले एक्कासि बसभित्र र बाहिर चारैतिर पेट्रोल छर्किए। एकैपटक झ्यालतिर आगोको मुस्लो आयो। मुस्लो र आगोको रापले म आत्तिएँ। मरियो भन्ने लाग्यो। बसमा भएका यात्रुहरूलाई घचेट्दै अप्ठ्यारोसँग बाहिर निस्केँ। सबैजनालाई बाहिर निस्कन हतार भएको थियो। बाहिर निस्केपछि मात्रै बाँचियो भन्ने लाग्यो। यस्तो घटना भोग्नुपर्ला भन्ने कल्पना पनि थिएन।

बसबाट बाहिरिएपछि हतारहतार हिँडरै धुलिखेलबाट बनेपा घरसम्म आइपुगेँ। घरमा पुगेपछि मात्रै सास आयो।समाचारमा यदाकदा पढेको थिएँ, आज आफ्नै आँखाअगाडि यस्तो डरलाग्दो घटना भयो। बन्द राम्ररी नखुलेको भए सुरक्षाकर्मीले बस नपठाउँदा पनि हुन्थ्यो। अझै पनि मन डराइरहेको छ।

बनेपाका एक यात्रु भोगाइ

( पीडित यात्रुले नाम उल्लेख गर्दा सुरक्षित नहोइने बताएपछि हामीले उनको नाम गोप्य राखेका छौँ- सं)

Share this post

Tags

0 comments

Leave a Reply