एउटा नेपाली युवकको खाडी दुःख

Published On Wednesday, August 07, 2013 » 0 comments » By Unknown »

संयोग पनि अचम्मको। कुवेत-इराकको मरुभूमिलाई कर्मथलो बनाएको करिब एक दशकपछि मैले भेट्न र नजिकैबाट जान्न खोजेको व्यक्तिसँग प्लेन यात्राको अवसर मिल्यो। कुवेतबाट ओमन हुँदै नेपालसम्मको यात्रामा कुवेतको मरुभूमिमा करिब ३ वर्षसम्म ४ सय हाराहारीको  भेडीबथानसँग जुध्दै रमाउन बाध्य नवलपरासी धुर्कोट-३ का दीपकबहादुर परियार भेटिए।

कक्षा ३ सम्म पढेका दीपकको जीवन साँच्चै कहालीलाग्दो छ। गरिबीकै कारण पढ्न नपाएका दीपकले बाल्यकाल खेतीकिसानी र ज्यालाबुनीमा बिताए। उमेरले सोह्र काटेपछि मजदुरीकै लागि भारत गएका दीपक पाँच वर्षसम्म उतै रमाए। पाँच वर्ष भारतमा बियर कम्पनीमा काम गरेर केही पैसा अनि भर्रभराउँदो जवानी लिएर गाउँ फर्के दीपक। बिए पास गरेर नवलपरासीमै स्थायी शिक्षिका रहेकी आफ्नै जात मिल्ने केटीसँग प्रेमबिबाह गरे।

पारिवारिक बेमेलका कारण श्रीमतीकै बिद्यालयनजिक कोठा भाडामा लिएर केही बर्ष बिताई एक छोरीका बुबा बनेपछि उनलाई फेरि बिदेशिनुपर्ने बाध्यता पर्‍यो।
यसरी सुरु भयो दुःखका दिन

विदेश जान अरु काम नआउने हुँदा आफूलाई मिल्ने काममा पठाउने एजेन्ट खोज्दै जाँदा गाउँनजिकै बर्दघाटका राजु गुरुङ भेटिए। उनको मिठो बोली र आश्वासनले दोस्रो बच्चाको आमा बन्न लागेकी श्रीमती र नाबालक छोरीलाई छोडेर ८० हजार रुपैयाँ ऋण काढेर कुवेत जाने भए दीपक।

सन २०१० जनवरीमा उनीलगायत सिंगापुर, दुबई जाने अन्य ७-८ जना नेपाली युवालाई एकैसाथ भारतको नयाँ दिल्ली लग्यो एजेन्टले। कुवेतमा अफिस टि–ब्वाईका लागि जाने र धेरै पैसा कमाउने सपना बुनाउँदै दिल्ली पुर्‍याउने एजेन्ट राजुले आज–भोलि गर्दै तीन महिना भुलायो। बिहानबेलुका सादा आधा पेट दालभातको भरमा दिल्ली रहनुपर्दा ऋण काढेको पैसा डुबेझै ठानेका दीपकले सन २०१०, मार्च ३ तारिखमा कुवेत पाइला टेके।

अंग्रेजीमा शून्य भए पनि नेपालीभन्दा हिन्दी धेरै बोल्ने दीपकले एकपटक पनि सोचेका थिएनन्, उनलाई एजेन्टले कुवेतको भेडीगोठमा पार्ला भनेर। तीन महिनादेखि दिल्लीमा अड्किएका दीपकलाई कुवेत एयरपोर्टबाट गुरुङजस्ती देखिने एक नेपाली केटीले नजिकैको उनको फ्ल्याटमा लगिन्। कुवेत आएको तेस्रो दिन ती नेपाली महिला एजेन्टले दीपकलाई उनको अफिस लगिन्। 'यसै दिन एक कुवेती आयो र मेरैअघि उनलाई केही पैसा दियो अनि मलाई हातले इसारा गर्दै अगाडि हिँड्न भन्यो,'  दीपकले सम्भि्कए।

ती नेपाली युवतीले भनिन्, 'अब तिमी यही कुवेतीकहाँ काम गर्ने हो जाऊ।'

तीन वर्ष कुवेत बसे पनि एकपटक कुवेत सहर पुगेका थिएनन् दीपक। उनको कुवेती साहुका छोराहरूले सन २०१३ मई १४ बिहान १०:०० बजेतिर कुवेतको एयरपोर्टमा एउटै प्लेनमा नेपाल पुर्‍याउने जिम्मासाथ मसँग छोडेका दीपक टोलाइरहन्थे। मेरैअगाडि दीपकसँग रहेको सय कुवेती दिनारको नेपाली रुपैयाँ ३० हजार कुवेत एयरपोर्टमै बैंकबाट साटेर नेपालमा घर पुग्ने भाडा दिए उनीहरूले। उनलाई दुई महिनाको छुट्टीपछि फेरि फर्कन भन्दै साना साहुहरू फर्किए।
कुवेत एयरपोर्ट हुँदासम्म बोल्न नरुचाएका दीपकले ओमनको मस्कट एयपोर्टको ५ घन्टा लामो ट्रान्जिटमा भने आफ्नो तीन वर्ष भेडीगोठमा व्यहोरेको कहानी र सास्ती सुनाए।

दीपकले कल्पिए, आफू कुवेत आएपछि जन्मिएकी र हालसम्म देख्न नपाएकी साढे दुईवर्षे कान्छी छोरी कस्ती होलिन्? आफू कुवेत आउँदा ताते बोल्ने ठूली छोरी अनि तीन वर्षसम्म दुई बच्चा र व्यबहार चलाएकी श्रीमतीलाई कहिले देखौंजस्तो भइरहेको अनि उकुसमुकुस भइरहेको उनले बताए। कुवेतको निस्सासिने गर्मी र कुवेतको मरुभूमिको भेडीगोठका दुःख जीवनमै नभुल्ने उनले बताए। विस्तृतमा

कुवेतको गर्मी र जाडोलाई आफ्नो छालले पचाइसकेको बताउने दीपकले पुरानो घाउलाई उक्काउँदै भने, 'अन्य दुई भारतीय र तीन  बंगलादेशीसँग मिलेर रोटेसनमा करिब ४ सय भेडाबाख्राको हेरचाह, खेतीकिसानी र घाँस काट्ने काम गर्नु पर्थ्यो।” उता महिनाको एकपटक आफ्नो कृषिफर्ममा मोज गर्न आउने साहुको एसीजडित घर र बगैंचाको रेखदेख पनि उनकै जिम्मा थियो। साहु आउँदा उसले फलफूल र जुस टन्नै ल्याइदिन्थ्यो। दुई हप्तामा एउटा भेडा काटेर खान पाइन्थ्यो। खान चाहिँ दुःख थिएन।

दीपकले सम्भि्कए, 'हरेकपटक साहु आउँदा घरमा उसकै मोबाइलबाट श्रीमती र छोरीसँग बोल्थेँ। पैसा हरेक महिना मासिक ६० कुवेती डलर साहुले नै पठाइदिन्थ्यो। पछिल्लो एक वर्ष देखी तलब ८० केडी भएको र २ महिनाको छुट्टीबाट फर्किएपछि १०० केडी तलब हुँदैछ।'

कुवेतबाट इराक जाने साल्मी रोड एरियामा पर्ने समुद्री तटको बालुवालाई गाउँजस्तो लाग्न थालेको उल्लेख गर्दै दीपकले थपे, 'सुरुमा त धेरै गर्मी र जाडोका कारण दिशापिसाब गर्न पनि गाह्रो भयो।'

आफूमात्र होइन, धेरै नेपाली दाजुभाइहरू कुवेतको साल्मी एरियामा भेडाबाख्रा अनि कृषि पेसामा रहेको उल्लेख गर्दै अन्य नेपालीभन्दा आफू भाग्यमानी रहेको उनले बताए। साहु राम्रो भएकाले भेडाबाख्रा हराए पनि एकपटक पनि तलब नकाटेकामा उनी खुसी थिए।

'मलाई त सधैं समयमै तलब दिन्थ्यो,' उनले भने, 'कति नेपाली साथीहरूले साहु राम्रो नभएको कारण महिनौं तलब पाएका छैनन्, भेडाबाख्रा हराउँदा पैसा काटेको छ, अनि पेटभरि खान नपाएको र बिरामी हुँदा उपचारको त कुरै छोडौं, काम गर्दा–गर्दै ढल्नु परेको छ।'

तीन वर्षमा दुईपटकमात्र सँगै काम गर्ने साथीमार्फत कपाल काटेका दीपकले भने, 'कपालले नै घामबाट र जाडोबाट बचाउने हुँदा लट्टे कपाल पालेको हुँ।' भेडाबाख्रा चराउन जाँदा होस् या गोलभँेडा अनि मुला गोड्दा वा घाँस काट्न जाँदा, लामो कपालले गर्मी र जाँडोबाट सुरक्षा दिने अनुभव दीपकले सुनाए। 

खासै सामान नकिने पनि एक दिनअघि मात्र साहुको छोरासँग गएर साल्मियाको सिटी सेन्टरबाट श्रीमती तथा छोरीहरूका लागि चकलेट र लुगाहरू लिएको उनले बताए।

श्रीमतीले अझै देशको स्थिति ठीक नभइसकेको बताएकाले दुई महिना घर बसेर फेरि एकपटक कुवेतको भेडीगोठमै फर्कने योजना दीपकले सुनाए। उनले देशका नेताहरूले केही राम्रा काम गरेर देशमै काम पाउन सक्ने अवस्था सिर्जना गरेको भए आफूमात्र होइन, धेरै युवा बिदेशिनुनपर्ने बताए ।

क्याप्सन: मस्कट विमानस्थलमा दीपक परियार (वायाँ) सँग लेखक हरिकृष्ण न्यौपाने ।

Share this post

Tags

0 comments

Leave a Reply