इलाहावाद (एजेन्सी), माघ २९ - कुम्भमेलाका क्रममा मौनी औंसीका अवसरमा आइतबार प्रयागस्थित गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा तीन करोडभन्दा बढी भक्तजनले स्नान गरे । ५५ दिन चल्ने कुम्भमेलामा ६ महास्नान हुने गर्छ । तिनमा भाग लिन भारत र विदेशबाट समेत गरी करोडौं इलाहाबाद जाने गर्छन् । यो विश्वकै ठूला मानवभेलामध्ये एक हो । मेलाभर दस करोडले नुहाउने अनुमान गरिएको छ । मेला मकर संकान्ति अर्थात जनवरी १४ देखि सुरु भएको हो । त्यस दिन करिब ८० लाखले स्नान गरेका थिए । मेला भर्न शनिबार मात्र १ करोड २० लाख जना कुम्भ क्षेत्र आएका थिए ।
स्नानका लागि २० वर्गकिलोमिटर फैलिएको कुम्भ क्षेत्रमा २२ वटा घाट बनाइएको छ । उक्त क्षेत्रमा १८ हजार फुट संगम तट पर्छ । त्यहाँ नुहाएमा पाप पखालिएर मुक्ति मिल्ने विश्वास हिन्दु धर्मावलम्बीको छ । यो मेला प्रत्येक १२ वर्षमा लाग्ने गर्छ । यो वर्षलाई त अझ महाकुम्भमेला भनिन्छ । यस्तो अवसर प्रत्येक १ सय ४४ वर्षमा एकपटक आउँछ ।
मेलाका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । १४ हजारभन्दा बढी प्रहरीसहित अर्धसैनिक बल र कमान्डो परिचालन गरिएका छन् । भक्तजनलाई लक्षित गरेर १४ वटा अस्पताल स्थापना गरिएका छन् । त्यहाँ डेढ लाखले उपचार गराएको जनाइएको छ ।
भक्तजनको मात्र होइन, त्यहाँ सञ्चारकर्मीको समेत मेला लागेको छ । भक्तजनले स्नान गरेको खबर संकलनका लागि विश्वभरका विभिन्न भाषामा काम गर्ने सयौं पत्रकार त्यहाँ पुगेका छन् ।
आइतबार बिहानदेखि साधु र अन्य महिला-पुरुष उक्त क्षेत्र पुगेका थिए । कतिले ध्वजापताका, धनुषवाण आदि बोकेका थिए । कति नाचगानमा सहभागी थिए । केहीले भगवान्को जस्तो भेष धारण गरेका थिए । कोही घोडामा आएका थिए । अधिकांश साधु नांगै थिए । लट्टा पालेका र जिउभर खरानी धसेका उनीहरू कडा सुरक्षाबीच नदीमा पुगेका थिए ।
मेला सुरु भएयता यस क्षेत्रमा ४० हजार आफन्त भीडमा हराएर फेरि भेटिएका छन् । मेलाको कुल खर्च करिब १५ अर्ब भारतीय रुपैयाँ लाग्नेे अनुमान गरिएको छ । इलाहाबादमा तीर्थयात्री ल्याउन हजारौं बस तथा विशेष रेलहरू प्रयोग गरिएका छन् । यसैबीच इलाहाबाद रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको ज्यान गएको छ ।
महाकुम्भ मेलाका अवसरमा आइतबार भारतको इलाहाबादस्थित गंगा, यमुना र सरस्वती नदीको संगममा भेला भएका साधुहरू । तस्बिर: एपी/रासस


