प्रेमको खोजी

Published On Wednesday, February 13, 2013 » » By Unknown »


काठमाडौ, फाल्गुन ३ - संसारभरिका युवायुवती फेरि एकपटक १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे/प्रेमदिवसको स्वागत गर्न जुटेका छन् । हरेकखाले व्यस्तताका बाबजुद जोडीहरू आआफ्नो ढंगले प्रेम प्रकट गर्दै यो क्षणलाई मीठो एवं स्मरणीय बनाउने चाहनासाथ दौडिरहेका देखिन्छन् । रेस्टुरेन्ट, बार, पार्क, चोक र गल्लीमा यत्रतत्र प्रेममा लिन जोडी रमाइरहेका छन् । पसलहरूमा उपहार, मिठाई र पेयपदार्थ किन्ने जोडीहरूको उपस्थिति बाक्लिएको छ । सामाजिक सञ्जालहरू र मोबाइलका सन्देश बक्सहरू पनि मायाको चित्र एवं सन्देशले भरिएका छन् । यतिखेर पूरा विश्व प्रेमको खोजीमा तल्लीन भएझैं प्रतीत हुन्छ । आखिर 'प्रेम' के हो ? कुनै जादु, चमत्कार, आकर्षण वा शक्ति ? मानवले आखिर कहिलेदेखि प्रेम गर्न सिक्यो त ? इतिहासका पानाहरू प्रेमको कथाले भरिए पनि यसको आरम्भका बारेमा यो मौन छ । विकिपिडियामा सबैले बुझ्ने गरी भनिएको छ, 'व्यक्तिगत लगाव र सशक्त चाहना मिसिएको भावना नै प्रेम हो ।' एक अध्ययनअनुसार तीन हजार वर्ष पहिले इजिप्टमा प्रेमबारे धेरै लेखिएको, पढिएको र खुलेर बहस भएको पाइन्छ इजिप्टका नागरिक चित्रलिपिमार्फत मायाको भावना प्रकट गर्थे । त्यतिखेर चाहना राख्न, जोडी छान्न र मन पराएको दर्साउन चित्र कोरिन्थ्यो । यसको उद्देश्य खेतीपाती गर्न र सुखी गृहस्थ जीवन चलाउन माया गर्ने साथीको खोजी गर्नु हुन्थ्यो । वास्तवमा यो भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम पनि थियो । अमेरिकाको न्युयोर्ककी कवि डियाने एकरम्यानले 'अ नेचुरल हिस्ट्री अफ लभ' पुस्तकमा विविध सभ्यतामा प्रेमको रूपमाथि प्रकाशित शोधपरक लेखहरूमा यसबारे चर्चा गरेकी छन् । सार भने एउटै छ, 'प्रेम एक सानो शब्द हो, जसको प्रयोग त्यस्तो अनुभूतिका लागि हुन्छ, जुन स्वयंमा शक्तिशाली हुन्छ । यसमा सत्ता, व्यक्ति, इतिहास, कला, संस्कृति र समाजमा समेत परिवर्तन ल्याउने ऊर्जा लुकेको हुन्छ ।'
प्रेमका बारेमा कुनै पनि व्यक्तिको बुझाइको विकास उसको संस्कृति, लालनपालन, शिक्षादीक्षा, धार्मिक झुकाव, समकालीन चलन र निजी अनुभवमा आधारित हुन्छ । तर, हजारौं वर्षअघिको झैं चित्र र कवितामा मात्र अब प्रेम सीमित रहेन । युवावर्गसँग गोपनीयताका साथ भावना प्रकट गर्ने थुप्रै आधुनिक माध्यम र ठाउँहरू छन् । उनीहरू धेरै हदसम्म प्रेम व्यक्त गर्न स्वतन्त्र छन् । के प्रेमको वास्तविक रूप र भावमा परिवर्तन आएको हो त ? विद्वान्हरूका अनुसार  परम्परा, रीति, रुचि, बदलिँदो युग, प्रविधि र परिवेशले प्रेमको मूल मर्ममा परिवर्तन ल्याउन सक्दैन । लेखक स्नोभा बार्नोका अनुसार प्रेम भनेको हार्दिक समर्पण हो । वास्तवमा व्यक्ति र समाजलाई जोडिराख्न एवं मानवतालाई बचाइराख्ने प्रेम अन्तिम अस्त्र हो । शोधहरूअनुसार प्रेम सुन्दर एवं गहिरो अनुभूति हो । यसलाई फूलका महँगा गुलदस्ता, चम्किलो गाडी, आकर्षक घर र उपहारमा कैद गरेर राख्न सकिँदैन । जुन युगमा भए पनि साँचो प्रेममा पैसा, मुहार र रङको नभएर मुटुदेखि प्रेमको साटासाट हुन्छ । प्रेम कुनै धन्दा वा व्यवसाय होइन, यो त जीवन जोड्ने र खुसी बर्साउने सूत्र हो । न यो खेल हो, न त कसैको खेलौना नै । वास्तवमा बुझ्नेलाई श्रीखण्ड र कमलको फूल अनि नबुझ्नेलाई खुर्पाको बिंड हो । यसको आवश्यकता एक दिन मात्र नभएर जीवनपर्यन्त हुन्छ ।
स्त्रीपुरुष सम्बन्धमा मात्र नभएर जीवनका हरेक क्षणमा प्रेमको अनुभूति जरुरी हुन्छ । प्रेमले नै सकारात्मक सोच र ऊर्जा उत्पन्न गर्छ । यो जातीयता, क्षेत्रीयता र साम्प्रदायिकताको भेदलाई हटाउने अमृत हो जुन मनको मिलनबाट प्राप्त हुन्छ । झनै संवेदनाहीन हुँदै गएको हाम्रो समाजका सन्दर्भमा घरदेखि कार्यालयसम्म, सडकदेखि दलसम्म, नेताका घरदैलो र सरकारसम्म प्रेमको आवश्यकता देखिन्छ । वन्यजन्तुदेखि मानवको जीवन पनि प्रेमबिना अधुरो, अपूरो र खल्लो छ ।  आपसी प्रेमले तनाव र रोगबाट मुक्त राखेर दीर्घायु प्रदान गर्ने प्रमाणित गरिसकेको कुरा विभिन्न शोधहरूमा उल्लेख छ ।  

Share this post

Tags