कैलाली, २० भदौ । सुदूरपश्चिम तथा मध्यपश्चिमकै एक मात्र मत्स्य विकास केन्द्र गेटाले गत वर्ष झन्डै पौने दुई करोड माछाका भुरा वितरण गरेको छ । केन्द्रले ह्याचलिङ , फ्राई, फिङ्गर र खानेमाछा गरी सुदूर र मध्यपश्चिमका किसानलाई दुई करोड माछाका भुरा वितरण गरेको हो । पछिल्ला वर्षहरुमा माछापालक किसानको सङ्ख्या बढ्दै गएपछि सुदूर तथा मध्यपश्चिममा माछाका भुराको माग अत्यधिक बढेको मत्स्य विकास केन्द्रले जनाएको छ ।
बर्सेनि माछाका भुराको माग बढ्दो र ह्याचरीको क्षमता कम भएका कारण मागअनुसार आपूर्ति गर्न नसकिएको प्राविधिक सहायक भीमराज भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो– “माछाका भुरा उत्पादन गर्ने ह्याचरीको क्षमता कम भएका कारण यहाँका किसानको मागअनुसार उत्पादन गर्न सकिएको छैन ।” सुदूर तथा मध्यपश्चिममा मागको ३५ प्रतिशत मात्र भुरा वितरण गरिएको प्राविधिक भण्डारीले बताउनुभयो ।
केन्द्रले किसानको मागअनुसार भुरा आपूर्ति गर्न नसकेपछि यहाँका किसानले भारत र निजी ह्याचरीबाट माछाका भुरा ल्याउने गरेका छन् । केन्द्रका अनुसार बजेट अभावले पनि माछाका भुरा उत्पादनमा समस्या आएको छ । भुरा उत्पादनका लागि बोरिङको पानीको क्षमता पनि घट्दै गएको कार्यालयका नायब सुब्बा राजकुमार शाहले बताउनुभयो । उहाँका अनुसार मत्स्य विकास केन्द्र वरपर पर्खाल नभएकाले माछा चोरिने समस्या रहेको छ ।
मत्स्य विकास केन्द्रले सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र मध्यपश्चिमका बाँके जिल्लामा माछाका भुरा वितरण गर्दै आएको छ । कैलाली र कञ्चनपुर कार्यालयको लक्षित केन्द्र रहेको नासु शाहको भनाइ छ ।
गतवर्ष सुदूर र मध्यपश्चिममा ह्याचलिङ एक करोड ३५ लाख २० हजार, फ्राई २० लाख पाँच हजार ४ सय ३६, फिङ्गर नौ लाख ५६ हजार ७ सय ६२ र खानेमाछा दुई हजार ४ सय ७५ गरी झन्डै पौने दुई करोड माछाका भुरा वितरण गरिएको कार्यालयले जनाएको छ । भुरा वितरणबाट रु १८ लाख ९८ हजार ८ सय ५६ राजस्व सङ्कलन भएको बताइएको छ ।
केन्द्रमा उत्पादित रहु, नैनी, कमन आदि जातका माछा भारतसमेत पठाइने गरेको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले ह्याचलिङ, फ्राई, फिङ्गर र खानेमाछा गरी डेढ करोड माछाका भुरा वितरण गरेको थियो । केन्द्रका अनुसार एक हेक्टर क्षेत्रफल जमिनमा १० हजार माछा पाल्न सकिन्छ । केन्द्रले १३ हेक्टर क्षेत्रफलमा विभिन्न जातका माछाका भुरा उत्पादन गर्दै आएको छ ।
जिल्ला कृषि विकास कार्यालय कैलालीका अनुसार १ सय ३६ हेक्टर पोखरी र ८ सय ७८ हेक्टर प्राकृतिक गरी एक हजार १४ हेक्टरमा माछापालन गरिँदै आएकामा यस वर्ष उत्पादन घटेर एक हजार १ सय ९८ मेट्रिक टन माछा उत्पादन भएको छ ।


0 comments