अमेरिका एक्लियो

Published On Wednesday, September 04, 2013 » 0 comments » By Unknown »

Kathmandu.वासिङ्टन (एएफपी), भाद्र १६ - अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाविरुद्ध सीमित कारबाही गर्ने विषयमा विचार गरिरहेको बताएका छन् । राष्ट्रसंघका निरीक्षकहरूले शनिबार सिरिया छोडेका छन् । यसले सम्भावित आक्रमणको ढोका खोलिदिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको सम्बन्धमा राष्ट्रसंघमा प्रमाण प्रस्तुत गर्न अमेरिकालाई चुनौती दिएका छन् । 

ओबामाले राष्ट्रपति बसार अल असादको सरकारविरुद्ध सैनिक कारबाही गर्ने विषयमा अन्तिम निर्णय गरिनसकेको प्रष्ट पारेका छन् । अमेरिकाले सिरियाले दमास्कसको बाहिरी भागमा नागरिकको हत्याका लागि रासायनिक हतियार प्रयोग गरेको निष्कर्षमा पुग्न सकिने गुप्तचरको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा ज्यान गुमाएका १ हजार ४ सय २९ मा ४ सय २६ बालबालिका रहेको जानकारी दिइएको छ । ओबामाले ह्वाइटहाउसमा पत्रकारहरूलाई यस प्रकारको आक्रमण विश्वका लागि चुनौती भएको बताए । उनले यो आक्रमण अमेरिकी सुरक्षाका अभिरुचिका लागि चुनौती भएको बताएका छन् ।
उनले यस विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्मा कारबाहीका लागि सहमति बन्न नसकेमा आलोचना गरेका छन् । उनले यस विषयमा व्यापक विकल्पमा अध्ययन भइरहेको र लामो अभियानका लागि जमिनमै सैनिक परिचालन गर्ने कुरालाई अस्वीकारेका छन् ।
सिरियाको सबैभन्दा नजिकको साझेदार रुसले अमेरिकी गुप्तचरको प्रतिवेदनमा प्रश्न गरेको छ । उसले राष्ट्रसंघको समर्थन नलिई सैनिक कारबाही नगर्न चेतावनी दिएको छ । इरानले पनि रुसको साथमा बोलेको छ । जर्मनी तथा क्यानडाले कुनै पनि सैनिक कारबाहीमा आफू आबद्ध नहुने बताएको छ । टर्कीले सिरियामा आक्रमण गर्ने मात्र नभई शासन परिवर्तन हुनुपर्ने माग गरेको छ । अमेरिकी संसद्का केही सदस्यहरूले सीमित क्षेप्यास्त्र आक्रमणको समर्थन जनाएका छन् भने उनीहरूले यस विषयमा प्रशासन पारदर्शी हुनुपर्ने माग गरेका छन् । अमेरिकामा गरिएको पछिल्लो सर्वेक्षणमा भाग लिने आधाले अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।

Share this post

Tags

0 comments

Leave a Reply