काठमाडौं, १७ साउन । राष्ट्रिय महिला आयोगले बेलबारी घटना नियोजितरुपमा
भएको र राजनीतिक पहुँचका आधारमा त्यसलाई लुकाउन खोजेको तथ्य सार्वजनिक
गरेको छ । बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता मोहना
अन्सारीले घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक गर्दै पीडित पक्ष प्रहरीसमक्ष
पुग्दा प्रहरीले निवेदन दर्ता नगरेको र महिला प्रहरी राखी बयान नलिएको
तथ्य फेला परेको बताउनुभयो । त्यसैगरी प्रतिवेदनमा घटनामा पीडकले ‘गाउँ
समाजले भोलि यसको फैसला गर्नेछ’ भनी प्रत्यक्षरुपमा दिएको धम्कीलाई
प्रहरीले सम्भावित घटनाको रुपमा नलिएको, अपराधको उजुरीपछि पनि पीडित
महिलालाई स्थानीय प्रहरी तथा राजनीतिकर्मीले माफी माग्न लगाएर मिलापत्र
गराएको र घटनाको सूचना पाएका दुईजना स्थानीय पत्रकार मौन रहेकाले घटना घट्न
पुगेको उल्लेख गरिएको छ ।महिला आयोगको प्रतिवेदनले घटना घटना दबाउनमा एमाले र एमाओवादीका जिल्ला सदस्यहरु संलग्न भएको खुलासा गरेको छ। प्रहरीबाट प्राप्त कागजातमा उनीहरुको हस्ताक्षरसहितको संलग्नता स्पष्ट भएको भन्दै आयोगले त्यस्ता सदस्यहरुलाई पार्टीले विभागीय कारबाही गरी राज्यलाई सहयोग गर्न आग्रह गरेको छ। आयोग प्रवक्ता अन्सारीले सो घटनाका पीडक पक्षलाई कारबाही तथा पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई आफ्नो घरमा सुरक्षित पुनःस्थापना गराउन माग गर्नुभयो ।मोरङको बेलबारीमा यही साउन ८ गते भएको घटनाबारे सत्यतथ्य सूचना सङ्कलन गर्न आयोगले अन्सारीको संयोजकत्वमा सरकारी तथा विभिन्न पक्षका प्रतिनिधिलाई समावेस गरी एक समिति गठन गरेको थियो । समितिले यही साउन १० गतेदेखि घटनाको स्थलगत अनुसन्धान तथा अनुगमन सुरु गरेको थियो ।समितिले पीडित माया सार्की तथा मनोज विकलगायतसँग सोधपुछका साथै भेटघाटका क्रममा विभिन्न व्यक्तिहरूबाट आएका तथ्य र इलाका प्रहरी कार्यालय बेलबारीबाट भएको कारबाहीसम्बन्धी फायलको प्रतिलिपिसमेतलाई आधार मानेर प्रतिवेदन तयार गरेको हो ।
copid:Nayakhabar.com


0 comments