लहान, माघ २७ - सिरहाको बस्तीपुरमा साताअघि एक किशोरीमाथि रातभरि बलात्कार गरिएको घटना आर्थिक प्रलोभनमा परी पीडित पक्षलाई मिल्न दबाब दिने स्थानीय प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
उनलाई कारबाहीका लागि सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराज तानिएको छ । स्थानीय अगुवाहरूको रोहवरमा उनकै पहलमा रकमको लेनदेन गरी ढाकछोप गर्दै मिलाउने प्रयास गरिएको अनुसन्धानबाट खुलेको थियो । गत शुक्रबार बेलुकी खेत हेर्न गइरहेकी बस्तीपुर ६ की १४ वर्षीया किशोरीलाई एक्लै देखेपछि बगैंचामा रहेको झुपडीमा रातभरि बलात्कार गरिएको घटना बस्तीपुर प्रहरी चौकीका प्रमुख प्रसनि रोहिणी पोखरेलले जाहेरी लिनुका साटो रकमको लेनदेन गरी स्थानीय अगुवाको रोहवरमा छलफल गराई मिलाउने प्रयास गरेका थिए ।
स्थानीय बस्तीपुर ६ का जोगेन्द्र यादव, ओम प्रकाश महतो, बस्तीपुर ८ कै रामसुन्दर यादव, सिग्नेश्वर पासमान, गोविन्दपुर २ का रामलोचन महतोको रोहवरमा पीडित पक्षलाई क्षतिपूर्तिस्वरूप एक लाख रुपैयाा दिनुपर्ने निर्णय गराएर घटना ढाकछोप गर्ने प्रयास गरेका थिए । बेलुकी खेत हेर्न गइरहेकी किशोरीलाई छिमेकी १८ वर्षीय नागे यादवले जबर्जस्ती तानेर नजिकै रहेको बगैंचामा पुर्याए पनि बगैंचामा रहेका नागेका दाजु २५ वर्षीय मागेन भन्ने चन्देश्वर यादवले किशोरीलाई देखेपछि भाइलाई घर पठाई त्यहीं रहेको झुपडीमा रातभरि बलात्कार गरेका थिए । घटनाको जानकारी स्थानीय बासिन्दाबाट गोप्य रूपमा वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले मंगलबार पाएपछि मात्र घटना सार्वजनिक भएको थियो । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी निरीक्षक खतिवडाले उक्त चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेललाई निगरानीमा राखी कारबाही चलाउनुका साथै बलात्कृत किशोरीलाई उपचारका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको थियो ।
बलात्कृत किशोरीले घटनाबारे जानकारी आफ्ना बुवालाई दिएपछि उनी छोरीलाई बलात्कार गर्ने पीडकलाई कारबाही गर्न भन्दै शनिबार बस्तीपुरस्थित प्रहरी चौकी पक्की टोल पुगेका थिए । तर चौकीका प्रमुख प्रहरी सहायक निरीक्षकले पीडितलाई न्याय दिलाउनुको साटो त्यस दिन दिनभरि आफ्नै चौकीमा समाजका केही अगुवालाई बोलाई पञ्चायती गरेर रकमको लेनदेन गर्दै ढाकछोप गरी घटना मिलाउने प्रयास गरेका थिए ।
'मातहतको कार्यालय भए पनि बलात्कारजस्तो जघन्य घटनाको जानकारी हामीलाई दिइएन,' वडा प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक खतिवडाले भने, 'बस्तीपुरकै सर्वसाधारणबाट बलात्कारको घटनालाई रकमको लेनदेन गर्दै थामथुम पारिएको सूचना प्राप्त भएपछि तत्कालै चौकीका प्रमुख पोखरेललाई निगरानीका लागि नियन्त्रणमा लियौं ।'
बेलुकी एक्लै किशोरीलाई खेततर्फ गइरहेको देखेपछि भाइ नागेले नै जबर्जस्ती करणी गर्ने उद्देश्यले बगैंचामा लिएर गएको अनुसन्धानमा खुलेको छ,' प्रहरी निरीक्षक खतिवडाले भने । बलात्कृत किशोरीको बयानअनुसार चन्देश्वरले रातभरि तीन पटक जबर्जस्ती ती किशोरीलाई बलात्कार गरेका थिए ।
प्रहरी निरीक्षक खतिवडाका अनुसार बलात्कारपछि शनिबार बिहान छोडिएकी किशोरीले सबै कुरा घरमा बताएपछि उनका बुवाले स्थानीय प्रहरी चौकीमा जाहेरी दिएका थिए । तर उक्त जाहेरी लिनु र सोको जानकारी माथि पठाउनुको साटो प्रहरी चौकीका प्रमुख प्रसनि पोखरेलले स्थानीय अगुवाको रोहवरमा छलफल गराई पीडित पक्षलाई क्षतिपूर्तिस्वरूप एक लाख रुपैयाँ दिनुपर्ने निर्णय गराए ।


