कट्टु लगाउने गोठालोदेखि सिनेमाको गोफ्लेसम्म

Published On Tuesday, November 27, 2012 » 0 comments » By Colors Nepal »


विजय आवाज
बोल्दा उनको आँखा चिम्लने बानी छ । आँखा चिम्लँदै उनले बाल्यकाल सम्भिmए, सानोमा कट्टु लगाएर खोला तर्दै स्कुल गइन्थ्यो । कहिलेकाँही साथीभाइसँग गोठालो पनि गइन्थ्यो । अभिनयको भुतले स्कुले जीवनमा नछोए पनि कथाभित्रको पात्रले छुन्थ्यो दयाहाङलाई । भोजपुरमा जन्मिएका दयाह्याङ राई आज सिनेमा क्षेत्रमा गोफ्ले नामले चिनिन्छन् । तर, भोजपुरको सानो गाउँका दयाह्याङलाई देशले नै चिन्ने गोफ्ले बन्न लामै संघर्ष गर्नुपरेको छ । निमावि र मावि छुट्टाछुट्टै स्कुलमा पढेका उनी पहिलोपटक सिनेमा हेर्दा अचम्मित भए । सिनेमाको पात्रले भन्दा पनि उनलाई प्रविधिले खुबै तानेको रहेछ । सिनेमाको प्रविधिलाई पछ्याउँदै उनले गाउमा थुप्रै हर्कत पनि गरे, गोफ्ले सम्झँदै भन्छन्, ‘सिरकको खोलमा टर्चलाईट बालेर आकृति निकाल्ने कामसमेत गरियो ।’
सानोमा सुनेको कथा र त्यसको पात्रले तानेपछि दयाहाङ काठमाण्डौ हानिएका हुन् । काठमाण्डौमा आएर नाटकमा भिज्ने योजना उनको थियो । भोजपुरको सानोगाउँमा कट्टु लगाएर दौडिएको एउटा ठिटोलाई काठमाण्डौ विशाल लाग्नु सामान्य नै थियो । तर, उनको नाटक लेख्छु र खेल्छु भन्ने दृढ अठोटलाई काठमाण्डौको शहरिया परिवेशले कत्ति पनि प्रभाव पारेन । अभिनय सिक्ने अभिलााष पूरा गर्न उनी कहिले प्रज्ञा प्रतिष्ठानको हल त कहिले सांकृतिक संस्थानमा चाहारे । तर, जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै, सांकृतिक संस्थानले दिँदै आएको ६ महिने नाटक तालिम लिने मौका पाए राईले । उनले चर्चित नाट्यकर्मी अनुप बरालसँग नाटकको तालिम मात्र लिएनन्, शीरमा रानी नामक नाटकमा पनि अभिनय गरे । अभिनयको चाहना केही हदसम्म पूरा भएकोमा खुशी थिए राई । गुरु र साथीहरुले तैंले अभिनय गर्न सक्छस् भनेर काँधमा धाप मार्दा उनका आँखाले देखेको सपना विपना नजिक पुग्दै थियो ।
भोको पेटमा थुप्रै पटक चुडिएको चप्पललाई सुतरीले बाँध्दै काठमाण्डौमा भौतारिएका दयाहाङले पहिलोपटक अनागरिक भन्ने सिनेमाका काम गर्ने अवसर पाए । त्यतिबेलासम्म पनि उनलाई अभिनय गर्न सक्छु भन्ने लाग्दैनथ्यो रे । तर, बुझ्न थालेको छु भन्ने लागेको थियो रे । काम पाउनका लागि धेरै संघर्ष गर्नु नपरे पनि राईले बाँच्ने मेसो पाउन भने संघर्ष गर्नुपरेको सुनाउँछन् । आफ्नो जीन्दगीको एउटा आयम सुनाउँदै गर्दा उनी कहिले घोत्लन्थे भने कहिले टोलाउथे । जीवनमा कहिल्यै पनि आफ्नो कामदेखि निराशा नलागेको उनको भनाइ छ ।
आफ्नै रोजाइले कुनै पेशा अपनाउँछु भनेपछि हरेश खानु हुदैन, दयाहाङ यही सिद्धान्तमा अडिग छन् । सपना बोकेर पाइला अघि बढाउनुपर्छ भन्ने मन्त्र बोकी उनी काठमाण्डौ छिरेका थिए । अनागरिक नामक सिनेमामा काम गरेलगतै उनले माइला डटकम नामक नाटकको निर्देशन पनि गरे । तर, उनको जीवनको कोशेढुंगा चलचित्र ‘दासढुंगा’ हुन पुग्यो । ‘दासढुंगामा अमर लामाको भूमिकामा नगरेको भए सायद मैले लुट पनि पाउने थिइँन होला ।’ राई भन्छन् । सिनेमामा खेल्ने भन्नेवित्तिकै लामो कपाल, मिलेको जिउडाल, अग्लो कद भन्ने सोचाइ धेरैको हुन्छ । तर, दया यसको ठ्याक्कै विपरीत छन् । ठूलो भूँडी, डल्लो अनुहार, थेप्चिएको नाक, होचो कद, नेपालीले बुझ्दै आएको नायकत्वमा दयाह्याङ कतैबाट पनि देखिँदैनन् । तर, उनी आफु नायकभन्दा पनि कलाकार भएको बताउँछन् । कलाकारले समाजको परिवेशलाई नजिक ल्याउन खोज्ने हो, जहाँ, मजस्ता हजारांै मानिस सडकमा दौडिरहेका हुन्छन्, म उनीहरुकै प्रतिनिधि बन्न चाहन्छु ।
उनलाई हिजोआज समाजले चरित्रमाथि गन्थन गर्न लागेकोमा खुशी लागेको छ । पहिला नायकको कुरा हुन्थ्यो, आज चरित्रको चर्चा हुन थालेको छ, दयाहाङले प्रष्टाउन खोजे । नाटकबाट जन्मेर फिल्ममा हुर्कन खोजेका राई आफु अझै पनि नाटकमा नै रमाइरहेको बताउँछन् । नाटक र सिनेमाभित्र धेरै फरक भएको उनको तर्क छ । नाटकको अभिनय साथीको प्रतिक्रियाबाट थाहा हुन्छ, सिनेमाको आफूले नै हेरेर जर्ज गर्न पाइन्छ ।
०५८ सालमा काठमाण्डौ छिर्दा एउटा झोलामा ३ जोर कपडा थियो उनको । आज भाडामा बसेको कोठामा दराज राख्न सकेका छन् उनले । त्यही दराजभित्र लगाउन मन लागेका कपडा छन् । ११ बर्षको रंगमञ्चको यात्रामा उनको जीवनमा आएको भिन्नता यत्ति मात्रै हो ।
अब उनको सपना एउटा सिनेमा निर्देशन गर्ने रहेको छ । सादा जीवन उच्च बिचारको सिद्धान्त बोक्ने दयाहाङ आफ्नै समाजको चरित्रलाई सिनेमाको पर्दामा देखाउन इच्छुक छन् । उनी भन्छन्, यो क्षेत्रदेखि वितृष्णा कहिल्यै भएन, भएको भए १२ बर्षअघि नै विदेश जान्थे होला । आफूले देखेको सपना विपनामा पूरा गर्न निरन्तर मिहिनेत गर्नुपर्छ ।
फोटो खिच्दा अझै पनि लजाउने गोफ्ले भन्छन्,-’म जहाँ छु, त्यो मेरो निरन्तर मिहिनेतको प्रतिफल मात्र हो ।’


Share this post

Tags

0 comments

Leave a Reply